काठमाडौं। जनकपुरका निर्माण व्यवसायी बलराम महतोले जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन्। महतोले शनिबार पत्रकार सम्मेलनमार्फत जनकपुरधामको मेयरमा स्वतन्त्रतर्फ उम्मेदवारी दिने घोषणा गरेका हुन्।
पार्टीको नेता हैन स्थानीय विकासमा समर्पित जनसेवकलाई चुनौं भने मूलनाराका साथ रमण कन्स्ट्रक्सनका संचालक महतोले मेयर पदका लागि उम्मेदवारी घोषणा गरेका हुन्।
उनका अनुसार कन्स्ट्रक्सनको काम नयाँ पुस्तालाई हस्तान्तरण गरेर जनकपुरधामको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेको हो। महतोले कुनै पनि दलमा लागेपछि समाजसेवा गर्न सक्ने अवस्था नदेखेपछि आफूले स्वतन्त्रबाटै चुनाव लड्ने मनसाय बनाएको बताए। महतोले आफ्नै नगरलाई सफा, सुन्दर र आकर्षक बनाउने अभिप्रायले स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताएका छन्।
विकास एक मात्र एजेन्डा रहेकोले जनकपुरवासीले आफूलाई सहयोग गर्ने विश्वास उनले व्यक्त गरे। महतोले मेयरको उम्मेदवारी घोषणाा गरिरहँदा उनका समर्थकहरुको उपस्थिति थियो।