काठमाडौं। मौसमी प्रतिकूलताका कारण आइतबार विहानैदेखि आन्तरिकतर्फको उडान प्रभावित भएको छ। यतिखेर काठमाडौं विमानस्थलबाट हुँदै आएको हिमाली क्षेत्र तर्फको नियमित उडान हुन नसकेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) अन्तर्गत उडान भइरहेका कारण यतिखेर विभिन्न सुगम गन्तव्यतर्फ आधा घण्टा ढिलाइ भइरहेको छ। विहान एकपटक हिमाली क्षेत्रको उडान भएको थियो। अहिले मौसम धुम्मिनुका साथै वर्षातका कारण हिमाली क्षेत्रतर्फको उडान हुन सकेको छैन। सुगमतर्फका गन्तव्यमा उडान आधा घण्टा डिले छ, विमानस्थलले जनाएको छ।
बुद्ध, यती, श्री, गुण, सौर्य, तारा, सिता, समिट लगायत विभिन्न वायुसेवा कम्पनीको आइतबार १ सय ६५ वटा उडानको तालिका छ। यसरी विहानैदेखि मौसमी प्रतिकूलताका कारण डिले भएका आन्तरिकतर्फका उडान राती १० बजेसम्म हुँदै आएको छ।