काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन विभिन्न पार्टीमा आबद्ध प्रमुख विद्यार्थी संगठनहरूले माग गरेका छन्।
आइतबार सम्पन्न संयुक्त बैठकले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
नेविसंघ अध्यक्ष डुजाङ शेर्पा, अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियन अध्यक्ष रूपनारायण श्रेष्ठ, अखिल(क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल छैठौं अध्यक्ष देवेन्द्र कुँवरले संयुक्त विज्ञप्ति जारी गर्दै तत्काल पेट्रोलियम पदार्थको मूल्य नघटाए संयुक्त विद्यार्थी संगठनहरूले निर्णायक संघर्षमा जान बाध्य हुने चेतावनी पनि दिएका छन्।
विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट सिर्जित महँगी र यातायात एवं माल वस्तुको ढुवानीमा हुने महँगी अनियन्त्रित हुँदै जाँदा गरिब, किसान, विद्यार्थी मजदुरलगायत आम जनताको जनजीवन कष्टकर बन्दै गएको भन्दै विद्युत लगायत वैकल्पिक ऊर्जा प्रयोगमा जोड दिन माग गरेका छन्।
यसका साथै उनीहरूले आगामी बजेटमा शिक्षित जनशक्तिलाई मुलुकभित्रै अवसर प्राप्त हुने खालका कार्यक्रमहरू समेटेर युवा र बौद्धिक जनशक्ति बस्ने र काम गर्ने वातावरण बनाउने नीति योजना र कार्यक्रमहरू ल्याउन पनि माग गरेका छन्।