काठमाडौं। रेमिट्यान्स र पर्यटन वृद्धिका लागि पहल गर्न विदेशस्थित नियोग प्रमुखलाई अर्थमन्त्रीले निर्देशन दिएका छन्। अर्थमन्त्री जनार्दन शर्माले विदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै रेमिट्यान्स भित्र्याउन विदेशस्थित नियोग प्रमुखलाई निर्देशन दिएका हुन्।
उनले नेपाल घुम्न जानुपर्ने विषयमा प्रवर्द्धनात्मक कार्यक्रम गरी विदेशी पर्यटकको संख्या बढाउनका लागि पहलकदमी लिनुपर्ने बताएका छन्। आइतबार दिउँसो भर्चुअल बैठक गर्दै अर्थमन्त्री शर्माले विदेशी मुद्रा बढाउनुपर्ने र भुक्तानी सन्तुलन सकारात्मक बनाउनु पर्ने दबाबमा सरकार रहेको बताएका थिए।
‘हामीलाई यतिबेला विदेशी मुद्राको संचिति बढाउनुपर्ने दबाब छ। यसका लागि तपाईहरूले विशेष भूमिका खेल्नुपर्छ’ उनले भने, ‘रेमिट्यान्सका माध्यमबाट पैसा पठाउन त्यहाँका नागरिकलाई प्रोत्साहन गर्नुस्।
चैत महिनामा ९१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको जानकारी दिदैं यतिमा मात्रै सन्तुष्ट नभई अझै वृद्धि गर्न सकिने खाँचो रहेको उनले बताए। आगामी आबको बजेट निर्माणका लागि सुझाव लिन नियोग प्रमुखहरूसँग छलफल भएको थियो। सो छलफल परराष्ट्र मन्त्रालयमा गरिएको थियो।