काठमाडौं। सोलुखुम्बुको व्यस्त पर्यटकीय बजार नाम्चेमा सडक बत्ती जडान कार्य सुरु भएको छ। सगरमाथाको प्रवेशद्वार नाम्चेमा पर्यटकहरुको सहजता तथा रातिको समयमा सडकमा हुने कुकुरको आक्रमणबाट पर्यटकहरुलाई बचाउन सडक बत्ती जडान गर्न सुरु गरिएको हो।
रातिको समयमा पर्यटकहरुलाई हिँडडुल गर्न सहज होस् भन्ने उद्देश्यले बजार क्षेत्रको ६५ ठाउँमा बत्ति जडान कार्य सुरु भएको खुम्बु पासाङल्हामु गाउँपालिकाले जनाएको छ। उक्त सडक बत्ती दिनको समयमा आफैँ बन्द हुने र रातको समयमा आफैँ बल्ने प्रविधिको रहेको वडा कार्यालयले जनाएको छ।
चैत्र १८ गतेबाट सुरु भएको जडान कार्य केहीँ दिनमा सकिने गरी काम भइरहेको बताइएको छ। बत्ती जडानका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८।०७९ मा १५ लाख रुपियाँ रकम विनियोजन गरेको थियो। सडक बत्ती प्रयोग गर्दा लाग्ने विद्युत महसुल वडा कार्यालयले तिर्ने गरी सम्झौता भएको बताइएको छ। बजारक्षेत्रको बाटोमा बत्ति बालेपछि घुमफिरमा सहज हुन पर्यटन व्यवसायीहरुले बताएका छन्।