काठमाडौं। वैशाख १ गते हुने भनिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडान मिति पछि धकेलिएको छ। नयाँ वर्षको दिन गरिने भनिएको परीक्षण उडान दुई साता पछाडि धकेलिएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नयाँ वर्षको दिनमा परीक्षण उडान गरेर बुद्ध पूर्णिमाका दिन २ जेठदेखि नियमित उडान गर्ने तयारी गरेको थियो । तर दुई साता पछाडि धकेलिएको क्यानले जनाएको छ ।
नयाँ विमानस्थलमा नियमित व्यावसायिक उडान सुरु गर्नुभन्दा पहिले धावनमार्ग, ट्याक्सी वे, एप्रोनदेखि टर्मिनल भवनका भन्सार, अध्यागमनलगायत हरेक युनिटहरूको अप्रेसनल परीक्षण गरिन्छ । त्यसका लागि नेपाल वायुसेवा निगम (एनएसी)को वाइडबडी जहाजबाट परीक्षण उडान गर्ने तयारी थियो । ‘न्यु इयर, न्यु रनवे’ भन्ने नारासहित विमानस्थलमा अप्रेसनल परीक्षण उडान गर्ने तयारी गरिएको भए पनि दुई साता पछाडि सरेको जिबिआइएका प्रवक्ता श्यामकिशोर शाहले बताए ।
जिबिआइएमा एरोनेटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई)ले विशेष विमानबाट ६ देखि १५ फागुनसम्म क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण उडान) गरिसकेको छ । यान्त्रिक परीक्षण उडानपछि क्यानले जिबिआइए उडानयोग्य रहेको ‘एरोनेटिकल इन्फर्मेसन पब्लिकेसन (एआइपी)’ प्रकाशित गरेको छ ।
क्यानले जिबिआइएको एरोनेटिकल इन्फर्मेसन पब्लिकेसन (एआइपी) प्रकाशित गरेको ४२ दिन नपुगेका कारण १ वैशाखमा अप्रेसनल परीक्षण उडान हुन नसकेको बताएको छ । जिबिआइए ८ वैशाखदेखि मात्र सञ्चालन गर्ने गरी एआइपी संशोधन गरिएको बताइएको छ । यस्तै, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को अडिट टोली नेपाल आएको र क्यानको पूरै टिम अडिटमा व्यस्त रहँदा पनि १ वैशाखमा अप्रेसनल परीक्षण उडान गर्न नसकिएको बताइएको छ।