जुम्ला। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जेठ मसान्तसम्ममा कर्णाली प्रदेशको विकास खर्च ८० प्रतिशत पुग्ने दाबी गरेका छन्। विकास निर्माणका काम सम्पन्न भएर पनि भुक्तानी लिन बाँकी रहेकाले खर्च प्रतिशत कम देखिएको भन्दै मुख्यमन्त्री शाहीले विकास खर्च बढ्ने बताएका हुन्।
उनले भने, “दोस्रो चौमासिक सम्म विकास खर्च १८ प्रतिशत भएको छ। काम धमाधम भइरहेका छन् । भुक्तानी नपाएर लेखाजोखा नभएको हो । जेठ मसान्त सम्म कर्णालीको पुँजीगत खर्च ७५ देखि ८० प्रतिशत हुन्छ ।”
प्रक्रियागत ढिलाइका कारण काम गरेर पनि भुक्तानी नपाएका कारण विकास खर्च कम देखिएको उनले बताए । लक्ष्य अनुसार ७५ देखि ८० प्रतिशतसम्म विकास खर्च हुने मुख्यमन्त्री शाहीको भनाइ छ।
कर्णाली प्रदेश सरकार विकासे बजेट खर्च बढाउन केन्द्रित रहेको भन्दै जुम्लाको कृषि पर्यटन, खेलकुल पर्यटन, सडक सिँचाइको विकासका लागि आफू सधैं सकारात्मक रहेको बताए । विकासमा पार्टीगत कुरा स्वीकार्य नहुने भन्दै आवश्यकताका आधारमा अघि बढ्नेमा जोड दिए।