सुर्खेत। नेपालको सुर्खेत स्थित एकमात्र संरक्षित वन काँक्रेविहारमा रहेको भग्नावशेषलाई पुरात्व विभागबाट उत्खनन गरी पहिलो पटक पुनर्निर्माण सुरु भएको १७ वर्षपछि निर्माण कार्य सकिएको छ। यस विहारको पुनःनिर्माण २०६१ सालदेखि थालिएको थियो। काँक्रेविहार करिब १३ को दशकतिर स्थापना भएको अनुमान गरिएको छ। यस भग्नावशेषमा बुद्ध, शिव पार्वतीलगायतका धेरै मूर्तिहरू कुँदिएका छन्।
२०५७ सालअघि नै यत्रतत्र अवस्थामा अलपत्र परेको काँक्रेविहारको विकास गर्नको लागि २०६१ सालमा नै यसको पुनःनिर्माण थालिएको भएता पनि पुनःनिर्माणको कामले गती नलिएपछि २०७२ सालमा ८ करोड १८ लाख रुपैयाँमा काठमाडौंको सिद्धबाबा कन्स्ट्रक्सनलाई काँक्रेविहार पुनर्निर्माणको जिम्मा दिएको थियो। त्यसपश्चात यसलाई शिखर शैलीको मन्दिर स्थापना गर्ने लक्ष्य राखि पुनर्निर्माणमा तीव्रता दिइएको थियो। यसअघि छरिएर रहेका पत्थरहरूमा कुँदिएका विभिन्न आकर्षक आकृतिहरूलाई प्रयोग गरेर काँक्रेविहार निर्माण गरिएको हो।
एक सय ५ फिट उचाइमा शिखर शैलीको मन्दिर निर्माण गर्ने लक्ष्यसहित सुरु गरिएको काँक्रेविहार पुनर्निमार्ण कार्य सम्पन्न भैसकेको छ तर यसलाई हस्तान्तरण गर्न भने बाँकी नै छ।हाल काँक्रेविहार परिसरमा चौकीदार, सरसफाइ, टिकटलगायतको जिम्मा वडा नं. ९ को कार्यालयले लिएको छ भने वीरेन्द्रनगर नगरपालिकाले पर्यटकीय गतिविधिलाई बढाउनका लागि काँक्रेविहार क्षेत्रमा चिडियाखाना निर्माण गर्न थालेको छ।
नगरपालिकाले काँक्रेविहारमा पर्यटकलाई अझ आकर्षित गर्नको लागि ११ लाख रुपैयाँ बजेट बिनियोजन गरी मिनी चिडियाखाना स्थापनाको काम थालेको हो। रैथाने अवस्थामा रहेका वन्यजन्तु विस्थापित नहुन भन्ने उद्देश्यले नगरपालिकाले वन्यजन्तुका लागि पिउने पानीको पोखरी र आहाराका लागि बोटविरुवा र बास बस्नका लागि वासस्थान निर्माण गर्ने भएको छ। हालको लागि उक्त चिडियाखानामा जरायो, दुम्सी, खरायो, मृग र चरालगायतका वन्यजन्तु रहनेछन्।