काठमाडौं। नेपाल वायुसेवा निगमले साउदी अरेबियामा नियमित उडान भर्ने भएको छ। आगामी वैशाख ९ गतेदेखि वायुसेवाको राष्ट्रिय ध्वजाबाहक विमानले पहिलो पटक साउदी अरेबियाको रियादमा नियमित उडान गर्न लागेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय ध्वजाबाहक विमानबाट साउदी अरेबियामा नियमित उडान भर्नका लागि पहल गरेसँगै अब वायुसेवा निगमले नियमित उडान भर्ने भएको हो ।
उडानका लागि नेपाल नागरिक उड्डययन प्राधिकरणले पनि वायुसेवा निगमलाई उडान अनुमति दिइसकेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए।
उनका अनुसार वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान गर्न सक्ने गरी अनुमति पाएको छ। निगमले व्यावसायिक योजनाअनुरुप काठमाडौँ–रियाद–काठमाडौँ सेक्टरमा नियमित उडान सुरु गर्ने भएको हो ।