विराटनगर महानगरपालिकामा आकाशे पुल बनाउने योजना अलपत्र परेको छ। सम्बन्धित निकायको समन्वयकारी भुमिकाको अभाव तथा स्थान सुनिश्चित नगरि योजना कार्यान्वय गर्न खोज्दा लगभग साढे २ करोड रुपैयाँको योजना अलपत्र परेको हो ।
२०७७ साल चैत २ गते विराटनगर महानगरपालिकाका प्रमुखले नगरक्षेत्रको बरगाछीमा एक कार्यक्रमकाबीच आकाशे पुलको शिलान्यास गरेका थिए। त्यसपछि आकाशे पुलको डिजाइन गरी ठेक्कासमेत लगाइए पनि हालसम्म पुल निर्माणले पूर्णता पाउन सकेको छैन।
महानगरपालिकाले आकाशे पुल निर्माणका लागि भन्दै २०७६ साल फागुन १६ गते टेण्डर निकालेको थियो । त्यसको झण्डै एक वर्षपछि महानगरले ढिला गरी ठेकेदारहरूको टेण्डर स्वीकृत गरेको थियो । नगरक्षेत्रको सुन्दरता अभिवृद्धि र सडक वारपार गर्न पैदल यात्रीलाई सहजताका निम्ति महानगरको घाँसचोक, बरगाछि र कंचनबाडीचोकमा गरी तीनवटा फलामे संरचनाको आकाशे पुल बनाउने गरी योजना अघि बढाइएको छ। महानगरले तीनवटै पुलका लागि दुई करोड भन्दा माथी ठेक्का लगाएको छ।
पुल निर्माण गर्न लागिएको छेउका जग्गा धनीहरुसँग समन्वय नगरी त्यहाँ निर्माण गर्न खोजिएपछि सम्बन्धित जग्गा धनीहरुले निर्माण रोक्न महानगरमा निवेदन दिएपछि काम रोकिएको कला बिल्र्डसका प्रोपाइटर सञ्जय यादव बताउँछन् ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले भने महानगरको विकाससँग जोडिएको विषयवस्तुमा सबैले सहयोग गर्नुपर्ने बताए। देखिएका विवादलाई समाधान गरेर चाँडै निर्माणलाई पूर्णता दिने उनको भनाइ छ।