कञ्चनपुर। कञ्चनपुरको वेदकोटमा शिलान्यास गरिएको छेला औद्योगिक क्षेत्रको निर्माण कार्य अझै शुरु भएको छैन। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको वर्ष दिन बितिसक्दा पनि निर्माण कार्य शुरु नभएको हो।
ओलीले गत वर्षको १० फागुनमा छेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए। १ चैत ०७२ मा मन्त्रिपरिषद्ले दैजीमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो ।
अढाई दशकअघि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको कार्यकालमा घोषणा गरिएको क्षेत्रलाई २६ वर्षपछि शिलान्यास गरिएको थियो ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले नौ सय बिघा क्षेत्रफलमा घोषणा गरिएको क्षेत्रमा तीन सय ५५ बिघामा उद्योग विस्तार गरिने बताएका थिए । १४ माघ ०७३ को मन्त्रिपरिषद् बैठकले साबिक चारकिल्ला संशोधन गरी पूर्वतर्फ मुक्त कमैयाबस्ती, धेउडीथुम खोल्सा, पश्चिमतर्फ साजगाड खोला, उत्तरतर्फ चुरे वन र दक्षिणमा चाँदनीफाँटाबस्ती राजमार्ग पश्चिमतर्फको पर्ती जग्गा कायम गरिएको छ । चार सय बिघा क्षेत्रफलमा उद्योग स्थापना गरिनेछ । कुल नौ अर्ब लागत लाग्ने औद्योगिक क्षेत्रमा चालू आर्थिक वर्षमा कार्यालय सडक मर्मत, पानी, विद्युत्का लागि २० करोड बजेट रहेको अध्यक्ष बस्नेतले बताए ।
उद्योग स्थापना भएमा प्रत्यक्ष तथा अप्रत्यक्ष २२ हजारले रोजगारी पाउनेछन् । पाँच वर्षसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको औद्योगिक क्षेत्रमा एक वर्ष बित्दासमेत कुनै काम नभएकोमा स्थानीयहरू चिन्तित भएका छन् ।