बनेपा। नयाँ वर्षको आगमनसँगै विभिन्न क्षेत्रबाट रमाइलो र आनन्द लिनका लागि घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्याले यहाँका पर्यटकीयस्थलमा घुइँचो लागेको छ। काभ्रेपलाञ्चोकका पर्यटकीयस्थल धुलिखेलको देवीस्थानडाँडा, नमोबुद्ध, दोलालघाट, साँगा र नगरकोटलगायतका क्षेत्रमा नयाँ वर्षमा घुम्नका लागि आउने आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो।
अघिल्लो वर्षमा कोरोना सङ्क्रमण जोखिमका कारण भीडभाडमा जान नहुने भएका कारण बाहिर घुम्न ननिस्कने गरेकामा यस वर्ष कोरोना सङ्क्रमण जोखिम न्यून भएकाले धेरैजसो मानिस रमाइलो र आनन्द लिनका लागि घुम्न निस्केको घुम्न आउनेहरुले बताएका छन्।
नगरपालिकाले देवीस्थानडाँडामा बान्तीपार्क, पृथ्वीनारायण शाह, सहिद बलभद्र कुँवरको शालिकका साथै व्यवसायीले पिङ खेल्नका लागि मनोरञ्जन पार्कमा घोडा चढ्ने व्यवस्थासमेत गरिदिएका कारण पर्यटक बढ्न थालेका हुन्। काठमाडौँबाट नजिकको गन्तव्य हुनाका साथै यहाँबाट हिमालका मनोरम दृश्यावलोकन गर्न पाउने र वरिपरिको सुन्दर क्षेत्र हेर्न पाउने भएका कारण पनि पर्यटक घुम्न आउने गरेका छन्।
धुलिखेलको देवीस्थानलगायत नमोबुद्ध, नगरकोट, दोलालघाट, साँगा, पनौतीको रयाले, मानेदोभानलगायतका पर्यटकीयस्थल नयाँ वर्षका दिन धेरै आन्तरिक पर्यटकले भरिएका छन्। साथीसङ्गी र परिवारसहित बाहिर घुम्न जाँदा सबैमा खुसीको अनुभूति हुने भएकाले विशेषगरी नयाँ ठाउँ तथा रमाइलो र मनोरञ्जन लिन पाउने ठाउँमा घुम्न निस्कने गरेको उनीहरूको भनाइ छ। पर्यटकहरुको चहलपहलसँगै पर्यटकीयस्थलका व्यवसायीमा उत्साह थपिएको छ।