काठमाडौं। नेपालले अमेरिकाबाट एमसीसी बाहेक ८० अर्ब अनुदान रकम पाउने भएको छ। अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय (यूसएआईडी) बाट ६५ करोड ९० डलर (७९ अर्ब ७१) करोड रुपैयाँ अनुदान सहायता लिने भएको हो।
शुक्रबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारले उक्त सहयोग लिने घोषणा गरेको हो । नेपालले ५ वर्षभित्र उक्त अनुदान खर्च गरिसक्नुपर्ने अर्थ मन्त्रालयले जनाएको छ ।
प्रत्येक वर्ष १३ करोड २० लाख डलर (१६ अर्ब १३ करोड रुपैयाँ) अनुदान सहयोगको आवश्यक्ताका आधारमा उपयोग गर्न सकिने भएको छ । उक्त अवधिभित्र कुनै वर्ष धेरै वा थौरै गरेर उपयोग गर्न सकिने मन्त्रालयले जनाएको छ ।
शिक्षा, स्वास्थ्य, कृषि, निजी क्षेत्रको क्षमता विकासलगायतका क्षेत्रमा उक्त अनुदान खर्च गर्न सकिने बताइएको छ । यसैगरी दुई देशको सहमतिअनुसार अन्य क्षेत्रमा पनि खर्च गर्न सकिने अन्तर्राष्ट्रिय आर्थिक सहायता तथा समन्वय महाशाखाले जनाएको छ।
यस अनुदानमा खासै ठूला सर्तहरु नरहेको बताइएको छ।अर्थतन्त्रमा विभिन्न वृहत पूर्वाधारका क्षेत्रमा लगानीको प्रतिबद्धता प्राप्त भएकाले सम्बन्धित विषयगत मन्त्रालयहरुले बनाएको आयोजनाअनुसार अनुदान खर्च हुने बताइएको छ । अर्थ मन्त्रालय, सम्बन्धित विषयगत मन्त्रालय र दातृ निकायहरुले आपसी समन्वयका आधारमा अनुदान खर्च गरिनेछ ।