लमजुङ। लमजुङको क्व्होलासोँथर गाउँपालिका ३ स्थित स्मार्टभिलेज घले गाउँलाई ‘सुखी गाउँ’ घोषणा भएको छ। घले गाउँलाई नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार ‘सुखी गाउँ’ घोषणा गरेका हुन् ।
दुई दशकअघिसम्म विकासका पूर्वाधार नपुगेको घले गाउँमा यतिबेला भने आधारभूत शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, विद्युत् र सडक पुगेको छ । पर्यटक बोलाउने, घरमै खाना खुवाउने, संस्कृति देखाउने, हिमाल हेराउने परिकल्पनासाथ सुरु भएको ग्रामीण पर्यटनले घले गाउँवासीलाई अहिले सुखी बनाएको छ ।
गाउँले आफैंले यसका सूचक बनाएका छन् । त्यही सूचकलाई पछ्याउँदै सबै कार्यान्वयन चरणमा पुगेपछि घलेगाउँ सुखी गाउँ बनेको हो ।
गाउँ सम्झेर भारतीय सेनाबाट फर्केका प्रेमबहादुर घलेको नेतृत्वमा गाउँलेको झन्डै २ दशकको संघर्षपछि घलेगाउँ सुखी गाउँमा परिणत भएको हो ।
घले गाउँवासीले २०५७ बैशाख २३ मा प्रथम महोत्सव गरी १२ घर होमस्टे स्थापना गरे । प्रचारप्रसार गर्न २०५८ चैतमा घलेगाउँ महोत्सव गरे । अन्तरिम सरकारमा पृथ्वीसुब्बा गुरुङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा २०६४ फागुनमा घलेगाउँ दक्षिण एसियाको नमुना गाउँ (सार्क भिलेज) घोषणा भयो । घलेगाउँ २०७० मा पनि सार्क भिलेज बन्न सफल भयो ।
सडक, बिजुली, टेलिफोन, इन्टरनेट, खानेपानी, विद्यालय, स्वास्थ्यलगायतको आधारभूत सुविधा पुगेपछि घलेगाउँलाई २०७६ मंसिर १७ मा स्मार्ट भिलेजको सुरुवात भएको घोषणा गरियो । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) ले नेपालकै उत्कृष्ट होमस्टेका रूपमा पुरस्कृत गर्यो । सुखीगाउँको आधारभूत मापदण्ड पूरा भएपछि घलेगाउँलाई सुखी गाउँ घोषणा गरिएको घलेले बताए ।
क्व्होलासोंथर गाउँपालिका–३ घलेगाउँमा १ सय ३० घर छन् । अमेरिका, बेलायत गएका समेत फर्किएर होमस्टे सञ्चालन गर्न थालेका छन् । विक समुदायले सञ्चालन गरेको २ घरसहित घलेगाउँमा ४२ घरमा होमस्टे छ । घलेगाउँमा यो अवधिमा सवा २ लाख बढी पर्यटकले बास बसेका छन् ।