काठमाडौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वैशाख ८ गतेदेखि उडान शुरु हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध विमानस्थलको नयाँ धावनमार्ग वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याउने भएको हो।
प्राधिकरणले पुरानो १५ सय मिटर लामो धावनमार्ग बन्द गरेर ३ हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याउन लागेको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनियर प्रदीप अधिकारीले बुद्ध, यति, श्री, गुण र सौर्य गरी ५ एयरलाइन्सले वैशाख ८ गतेदेखि आन्तरिक उडान सुरु गर्ने बताए ।
वैशाख ८ गतेदेखि धावनमार्ग सुरु हुने भए पनि अन्तर्राष्ट्रिय उडान भने हुने छैन। अन्तर्राष्ट्रिय उडान जेठ २ गते बुद्ध जयन्तीका दिनबाट सुरु हुने महानिर्देशक अधिकारीले जानकारी दिए ।
उनले गौतमबुद्ध विमानस्थलमा टर्मिनल बिल्डिङ निर्माण र रनवेको क्षमता बढाउने काम मात्र बाँकी रहेको स्पष्ट पारे ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि हालसम्म जजिरा एयरले अनुमति पाएको छ ।
प्राधिकरणले तराईका विमानस्थलमा भइरहेका रात्रिकालीन आन्तरिक उडानलाई १२ बजेसम्म सञ्चालन गरेपछि त्यसले पर्यटन क्षेत्रमा पनि सुधार गर्ने विश्वास लिएको छ ।