सुर्खेत। जाजरकोट भेरी नगरपालिका ११ मेटाल स्थित भेरी पुल जर्ण बनेको छ। समयमा मर्मत सम्भारको काम नहुँदा सो पुल जिर्ण बनेको हो।
बाइसे चौबिसे राज्यकालताका भेरी नदीमाथि बनाइएको मटेलाको झोलुङ्गे पुल जीर्ण बनेपछि पुलबाट वारपार गर्ने विद्यार्थी र सर्वसाधारणलाई समस्या हुने गरेको छ। रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ र जाजरकोटको भेरी नगरपालिका–११ मटेला बीचको भेरी नदीमा रहेको उत पुलमा यात्रा गर्न जोखिम रहेको स्थानीयले बताएका छन्।
हाल उक्त झोलुङ्गे पुल ठाउँ–ठाउँमा भत्किएको छ भने वरिपरि रहेका तार, जालीहरू फुत्किँदै गएका छन्। पुलका विभिन्न भागमा रहेका नट बेल्टहरू समेत झरेका छन्। उक्त पुल ९० मिटर लम्बाइ रहेको छ। सो पुलको छुट्टै इतिहास रहेको स्थानीयले बताएका छन्।
राणा प्रधानमन्त्री चन्द्रशमशेरले निर्माण गरेको यो पुल जाजरकोटे राजाकी छोरी तथा चन्द्रशमशेरकी कान्छी रानी बालकुमारी शाहले आफ्नो माइतीहरूलाई भेरी नदी वारपार गर्ने सुविधाका लागि निर्माण गरिदिन आग्रह गरेपछि बनेको बताइन्छ।
विहीबार मात्र उक्त झोलुङ्गे पुलबाट खसेर एक महिला घाइते भएकी छिन्।जाजरकोटको भेरी नगरपालिका २ रिसाङकी ५२ वर्षीया देवी पुन पुलबाट खसेर घाइते भएकी हुन्। घाइते पुनको अहिले नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको बताइएको छ।