काठमाडौं। राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले यही वैशाख ९ गते (२२ अप्रिल २०२२) देखि साउदी अरेबियाको रियादमा सिधा उडान भर्ने भएको छ। वाइड बडी ए ३३० जहाजले रियादमा उद्घाटन उडान भर्ने भएको हो।
कार्यकारी अध्यक्ष युवराज अधिकारीले रियादमा सिधा उडान सुरु गर्न लागिएको जानकारी दिए।“वैशाख ९ गतेदेखि निगमले रियाद गन्तव्यमा उडान सेवा सञ्चालन गर्दैछ यो निगमका लागि निकै गौरबको विषय हो, लामो प्रयासपछि निगमले साउदी अरेवियाका विभिन्न गन्तव्यमा पनि उडान अनुमति पाएको छ, शुरुमा रियाद र क्रमशः अन्य गन्तव्यमा पनि उडान विस्तार गर्ने योजना छ ” कार्यकारी अध्यक्ष अधिकारीले भने।
निगमले हालै रियाद, दमाम र जेद्दामा उडानको अनुमति पाएको थियो। रियादस्थित नागरिक उड्डयन कार्यालयको जेनरल अथोरीटी अफ सिभिल एभिएसन्स्ले त्यहाँका तीनवटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको थियो। निगमले पहिलो चरणमा वैशाख ९ गतेदेखि काठमाडौं–रियाद–काठमाडौं सातामा दुई उडान गर्नेछ। सातामा तीन दिन उडान गर्ने योजना रहेपनि हाललाई सातामा दुई र छिट्टै सातामा नियमित तीन उडान गरिने भएकोे छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको पहल एवम् निर्देशन बमोजिम निगमले रियाद गन्तव्य विस्तार गर्न सफल भएको हो। उक्त क्षेत्रको उडान अनुमति लिनका लागि निगमका कार्यकारी अध्यक्षसहितका कर्मचारीहरू गत फागुन तेस्रो साता साउदी अरेबिया पुगेर उडान अनुमतिको प्रक्रिया थालनी गरेका थिए।