काठमाण्डौं। काठमाण्डौं महानगरपालिकाको १४ नं. वडा कार्यालयले बल्खुस्थित बन्धुदत्त मार्ग र नक्षत्र मार्गको संगमस्थलमा ढल व्यवस्थापन गर्ने भनि सडक खन्दा त्यस क्षेत्रमा आउजाउ गर्ने वासिन्दालाई असर परेको छ। सडक खन्न डोजर प्रयोग गर्दा स्थानीयको व्यत्तिगत सम्पतिमा समेत क्षती पुगेको छ।
उक्त सडकको खनाईले त्रिभुवन विश्वविद्यालय डिन कार्यालय लगाएतका यस क्षेत्रमा आउने विद्यार्थी, कर्मचारी साथै आम सर्वसाधारणलाईइ समस्या भएको हो। स्थानीयका अनुसार दैनिक १० औं हजार मानिस आउजाउ गर्ने यस क्षेत्रमा वडाले अध्ययन नगरी जथाभावी सडक खनेकोले समस्या भएको छ। उक्त क्षेत्रमा रहेका स्थानीयका घरका कम्पाउण्ड, गेट चर्केका छन् भने कतिपयका खानेपानीका पाईप समेत भाचिएका छन्। जसले गर्दा खानेपानी नै अवरुद्ध भएपछि स्थानीय सास्ती भोगीरहेका छन्।
यस क्षेत्रमा सडक खन्ने नाममा डोजर चलाएपछि स्थानीयले बनाएको ढलको संरचना पनि भत्किएको छ। जसले खानेपानीको ट्याङ्कीमा ढल पस्ने समस्याले स्थानीय त्रसित भएका छन्। सवारी साधन गन्तव्यसम्म पुग्न नसकेर फर्केर आउनु परेको अवस्था रहेको छ भने स्थानीय क्षेत्रमा बिग्रिएका संरचना तथा फुटेका ढलले दुर्गन्ध फैलीएर बस्न समस्या भएको छ।
स्थानीय वासीका बिग्रीएका संरचना चाँडो निर्माण गरिने वडा सदस्य रश्मी खड्काले बताईन्। प्राविधिक रुपमा गहिरो अध्ययन नभएको स्वीकार्दै समस्या समाधानका लागी पहल भइरहेको वडा कार्यालयका इन्जिनियरले बताए।