काठमाडौं। भारतले विस्फोटक पदार्थ निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालका विकास निर्माण कार्य प्रभावित हुने भएका छन्। भारतले गत चैत ३० देखि विस्फोटक पदार्थ निर्यातमा रोक लगाउँदा नेपालका विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने विकास निर्माणका काम प्रभावित हुने भएका हुन्।
भारतको पेट्रोलियम तथा विस्फोटक सुरक्षा संगठनले अर्को सूचना जारी नभएसम्म क्लास–२ प्रकारको विस्फोटक पदार्थ निकासीमा रोक लगाउने निर्णय गरेको छ। भारतको उद्योग तथा आन्तरिक व्यापार प्रवद्र्धनका लागि अतिरिक्त सचिव, नयाँ दिल्लीको अध्यक्षतामा गत अप्रिल १२ मा बसेको बैठकको निर्णयअनुसार उक्त प्रतिबन्ध लगाइएको हो ।
विस्फोटक पदार्थ निकासीमा रोक लगाउनुको कारण भने खुलाइएको छैन। भारतले निकासीमा रोक लगाएको क्लास–२ को विस्फोटक पदार्थ अन्तर्गत कालो पाउडर, सुरक्षा फ्यूज, प्रज्वलनशील तार, फ्यूज लाइटर र प्र्दर्शन आतशबाजी पर्छन् ।
भारतको यो निर्णयले नेपालमा जलविद्युत्, सडक, सुरुङ मार्गजस्ता भौतिक पूर्वाधार निर्माण प्रभावित हुने देखिएको छ । नेपाली सेनाले उत्पादन गर्ने विस्फोटक पदार्थको कच्चा पदार्थ पनि भारतबाटै आयात हुने गर्छ ।