काठमाडौं। ताप्लेजुङको पर्यटकीय क्षेत्र सुकेटार नजिक देउरालीमा रेडपान्डा अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण गरिएको छ। उक्त अध्ययन तथा अनुसन्धान केन्द्र स्थापनाका लागि कुल एक करोड ५७ लाख रुपियाँको लागतमा भवनसहितका संरचना निर्माण गरिएको हो।
फुङ्लिङ नगरपालिका–९, हाङ्देवास्थित देउराली सामुदायिक वनमा दुर्लभ वन्यजन्तु रेडपान्डाको अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण गरिएको हो। जिल्लास्थित हिमाली संरक्षण मञ्च र रेडपान्डा नेटवर्कले रेडपान्डा अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण गरेका हुन् । जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने गरी केन्द्र निर्माण गरिएको बताइएको छ।
मञ्चको सहजीकरण र रेडपान्डा नेटवर्कको आर्थिक सहयोगमा भौतिक संरचना निर्माण गरिएको बताइएको छ। वातावरणमैत्री संरचना भएकाले जैविक निर्माण सामग्री प्रयोग गरिएको छ।
गोबर, खरानी, अन्डाको खोल, शुद्ध तोरीको तेल, चुना, माटो, परालको टुक्रालाई मुछेर (मिश्रण) स्रोत केन्द्र निर्माण कार्यमा प्रयोग गरिएको बताइएको छ। उल्लेखित निर्माण सामग्री प्रयोगले संरचना वातावरणमैत्री बन्नुका साथै बलियो, टिकाउ र मौसम अनुकूूलित प्रकृतिको हुने पनि विश्वास गरिएको छ। अहिले भवन निर्माणको कार्य करिब ९९ प्रतिशत सम्पन्न भएको र चाँडै सञ्चालनमा आउने बताइएको छ।