काठमाडौं। ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल निर्माण गरिने भएको छ। अस्पताल निर्माणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णयका लागि सैद्धान्तिक सहमति दिएको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ज्येष्ठ नागरिक अस्पताल बनाउन सैद्धान्तिक सहमति दिएको जानकारी दिए । स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार ३७ लाख ज्येष्ठ नागरिक यो अस्पतालमा आबद्ध हुनेछन् । ज्येष्ठ नागरिकलाई विशेष र अलग्गै अस्पताल निर्माण गर्नुपर्ने भएकाले आगामी आर्थिक वर्षभित्र उपयुक्त स्थानको पहिचान गरी अस्पताल निर्माणको काम थालिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले डा. राधिका थपलियाको संयोजकत्वमा पायक पर्ने स्थानमा अलग्गै विशिष्टीकृत ज्येष्ठ नागरिक अस्पताल सञ्चालन गर्ने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यदल गठन गरेको थियो । कार्यदलको सिफारिसअनुसार छुट्टै ज्येष्ठ नागरिक अस्पताल बन्ने भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।