फाइल तस्बिर
म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा सार्वजनिक जग्गामा पार्क निर्माण गर्न शुरु गरिएको छ। सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाएर पार्क बनाउन थालिएको हो।
स्थानीयले अतिक्रमण गरेको सार्वजनिक जग्गा पहिचान गरेर संरक्षणका साथै उद्यान बनाउन लागिएको छ । बेनी नगरपालिका–८ का वडाध्यक्ष रामकृष्ण बराइलीले सार्वजनिक जग्गाको संरक्षण र स्थानीय आवश्यकता अनुसार उद्यान बनाउन लागिएको बताए ।
कालीपुलको पुरानो पुल नजिक कालीगण्डकी किनारमा व्यक्तिगत जग्गाको साँध सिमानामा रहेको एक रोपनीभन्दा बढी जग्गा फिर्ता गराइएको थियो । पहिलो चरणमा ६ जनाबाट अतिक्रमित जग्गा फिर्ता गरिएको र थप जग्गा पहिचान गरिने जनप्रतिनिधिहरुको भनाइ छ।
कालीगण्डकी नदीको किनारमा रहेको सार्वजनिक जग्गामा बाल उद्यान बगैँचा बनाउनुका साथै बसपार्कमा पुग्ने पैदल मार्ग बनाउन लागिएको हो । उद्यान निर्माणका लागि चालु आर्थिक वर्ष २०७८/७९ मा बेनी नगरपालिकाले रु चार लाख बजेट विनियोजन गरेको छ ।