सोलुखुम्बु । जिल्लाको निर्माणाधिन ८६ मेगावाटको सोलु दुधकोशी आयोजनाको मुख्य सुरुङ ब्रेक थ्रु गरिएको छ । दुई बर्ष अघिबाट सुरु भएको ४ हजार ४६९ दशमलब ६१ मिटर लामो मुख्य सुरुङ बुधबार ब्रेक थ्रु भएको हो ।
सोलुदुधकुण्ड नगरपालिका ११ तिङला र थुलुङ दुधकोशी गाउँपालिका ३ पन्चन क्षेत्रमा निर्माण भइरहेको आयोजनाको ४.३ मिटर चौडाई रहेको निर्माण कम्पनी सिई कन्स्ट्रक्सनका जनसम्पर्क अधिकृत प्रकाश दाहालले जानकारी दिए ।
साहास उर्जा प्रबद्रधक रहेको आयोजनाको कुल सुरुङ मार्ग भने ७ हजार ६ सय ५४ मिटर रहेको छ । सुरुङको काम सम्पन्न भइसकेको र अब फिनिसिङको काम हुन बाँकी रहेको आयोजनाले जनाएको छ । आयोजनाको बाँध क्षेत्रका सबै संरचनाको ९७ प्रतिशत निर्माण भइसकेको छ ।
कुनै अवरोध नआए आयोजनाबाट २०७८ चैतदेखि विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ ।