चितवन। चितवनको देवघाटमा ‘नमस्ते देवघाट गार्डेन रिसोर्ट’ निर्माण गरी सञ्चालनमा ल्याइएको छ। स्थानीय रामु खराल, लक्ष्मण खराल र कृष्ण पाण्डेको करिब ४ करोड रुपैयाँ लगानीमा रिसोर्ट सञ्चालनमा ल्याइएको हो ।
गत बिहीवार उक्त रिसोर्ट उद्घाटन गरिएको हो । धार्मिक पर्यटकीयस्थल देवघाटमा पुग्ने पर्यटकलाई लक्षित गरेर रिसोर्ट सञ्चालनमा ल्याइएको सञ्चालक रामु खरालले बताए । रिसोर्टमा एसीसहितका १० ओटा कोठा, ५० जना अट्ने सेमिनार हल लगायतको समेत व्यवस्था गरिएको छ।
नेपालका मात्र नभई भारत लगायत मुलुकबाट समेत देवघाटमा पर्यटक आउने गरेका छन् । उनीहरूका लागि सुविधासम्पन्न होटल तथा रिसोर्ट नहुँदा आवासको समस्या हुने गरेको थियो ।
रिसोर्ट सञ्चालनमा आएसँगै धार्मिक तथा अन्य पर्यटकको संख्या बढ्ने अनुमान सञ्चालकहरूले गरेका छन् । रिसोर्टमा १५ जनालाई रोजगारी दिइएको लक्ष्मण खरालले बताए । देवघाटको पर्यटन प्रवर्द्धनमा रिसोर्टले योगदान पुग्ने उनको विश्वास छ ।