काठमाडौं। विस्फोटक पदार्थ निर्यातमा भारतले लगाएको प्रतिबन्ध हटेको छ। गत अप्रिल १२ देखि भारतले विस्फोटक पदार्थ वर्गमा पर्ने सामग्रीहरु (क्लास टु एक्स्प्लोसिभ्स) निर्यातमा लगाएको प्रतिबन्ध हटाएको हो।
यी विस्फोटक पदार्थको प्रयोग विकास निर्माण कार्यहरुमा प्रयोग गरिने गरिन्छ। भारतले विस्फोटक पदार्थ निर्यातमा रोक लगाउँदा नेपालका जलविद्युत आयोजनाका सुरुङमार्गदेखि सडक, सुरुङमार्ग लगायतका आयोजनाहरु प्रभावित हुने सम्भावना बढेको थियो।
आयात रोके एक हजार मेगावाटभन्दा बढी क्षमताका जलविद्युत आयोजना र विस्फोटक पदार्थ प्रयोग हुने विभिन्न पूर्वाधार निर्माणका कामहरु प्रभावित हुने देखिएको थियो।
आयात रोकिँदा अरुण तेस्रोसहित निर्माणाधीन विभिन्न क्षमताका जलविद्युत आयोजना, काठमाडौं–तराइरमधेश द्रुतमार्गको तीनवटा सुरुङमार्ग, विस्फोटक प्रयोग गरेर निर्माण हुन लागेका सडकका आयोजनाहरुको काम प्रभावित हुन सक्ने देखिएको थियो।
नेपालमा विकास निर्माणका काममा प्रयोग गर्न ३ देखि ५ सय टनसम्म विस्फोटक पदार्थ आयात हुने गरेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अनुसार भारतले विस्फोटक पदार्थ निर्यातमा लगाएको प्रतिबन्ध हटाएर नेपालका आयोजनाहरुका कामहरु प्रभावित हुनबाट रोकिएको जनाएको छ।