सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङमा दुई महिनादेखि अवरुद्ध भुवाखोला लघुजलविद्युत आयोजनाको विद्युत सुचारु भएको छ । महाकुलुङ गाउँपालिका–२ सोलुखुम्बुको आयोजनास्थलमा पहिरोका कारण गत साउन १८ गतेदेखि अवरुद्ध विद्युत सेवा बुधबारबाट सुचारु भएको हो ।
गत साउन १८ गते राति गएको पहिरोले विद्युतको पेनस्टक पाईपमा क्षति पुर्याएपछि अवरुद्ध भएको सेवा दुई महिनाको अथक प्रयास पछि सुचारु गर्न सफल भएको आयोजनाका अध्यक्ष दिपक राईले बताउए । विद्युत सेवा बन्द भएसँगै अन्धकारमा रात विताउन बाध्य सो क्षेत्रका १ हजार २ सय ५० घर परिवार बुधबार बेलुकादेखि उज्यालोमा बस्न पाएको उनको भनाई छ ।
अवरुद्ध विद्युत सुचारु गराउन आयोजना र स्थानीय उपभोक्ताको गरि करिब ५ लाख रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ । महाकुलुङ गाउँपालिका १ र २ का नागरिकहरुले उपभोग गर्दै आएको ८८ किलोवाटको उक्त आयोजना २०६८ सालमा तत्कालिन जि.वि.स र बैकल्पिक उर्जा पर्वद्धन केन्द्र र स्थानीयको लगानीमा निर्माण भएको थियो ।