गुल्मी। गुल्मीको रेसुङ्गा नगरपालिकामा निर्माणाधीन रेसुङ्गा विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। शिलान्यास भएको १५ वर्षपछि विमानस्थल निर्माण पूरा हुन लागेको हो।
विमानस्थलको वैशाखभित्र परीक्षण उडान हुने गरी तयारी भइरहेको छ। यसअघि २०७५ साल जेठ २५ गते तारा एयरको विमानले विमानस्थलमा उडान गरेको थियो ।
रेसुङ्गा–१० सिमिचौरको थालेमालेस्थित रेसुङ्गा विमानस्थलको २०६३ सालमा तत्कालीन पर्यटनमन्त्री तथा हाल एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले शिलान्यास गरेका थिए ।
विमानस्थलमा विभिन्न चरणका कामहरू फरक–फरक निर्माण व्यवसायीबाट भइरहेका थिए । टर्मिनल भवनसहित कन्ट्रोल टावर नेपाल नागरिक उड्डयन प्राधिकरण एरोड्रो इन्जिनियरिङ विभागमार्फत बोकोई श्रेष्ठ कन्स्ट्रक्सन जेभीले निर्माण गरेको हो ।
विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर ४ करोड ५ लाख २९ हजार ६ सय १० रुपियाँको लागतमा निर्माण गरिएको छ । त्यस्तै, अर्को महत्त्वपूर्ण धावनमार्ग कालोपत्रे गर्ने काम सकिएको छ ।
धावनमार्ग ५ सय २० मिटर लम्बाई र २० मिटर चौडाइको धावनमार्ग कालोपत्रे गर्ने काम पनि सकिएको छ । कालोपत्रे गर्ने कार्य रौताह हरिहरि जेभीले गरेको थियो । उसले ७ करोड २५ लाख लालगतमा उक्त कार्य गरेको हो। विमानस्थल निर्माणका लागि आवश्यक १५६ रोपनी क्षेत्रफल मध्ये स्थानीयवासीको ७९ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।