काठमाडौं। नागार्जुन नगरपालिका–७ स्थित इन्द्रायणी मन्दिरबाट चोरिएका मूर्तिसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार बिहान मूर्तिसहित मूर्ति चोरी गर्ने दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ कलंकी खड्कागाउँ बस्ने सिन्धुली दुधौली नगरपालिका–४ डाँकाबजार घर भएका ३० वर्षीय उमेश खड्का र धादिङ धुनीवेंशी नगरपालिका–४ घर भएका ५६ वर्षीय कान्छा मगर छन्।
नागार्जुन फस्कुस्थित सडकमा एक पुरूष बोराभित्र चोरिएका सामान बोकेर हिँडिरहेको भन्ने सूचनापछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट तामाको कलश ३ थान, अर्ग १ थान, पित्तलको सानो घण्टी १ थान, सेतो शंख १ थान, माटोको गणेशको मूर्ति १ थान, शिवलिंग २ थान, सिल्भरको शिव, पार्वती र गणेशको मूर्ति २ थान, किटको शिव, पार्वती र गणेशको मूर्ति १ थान, श्रीकृष्णको मूर्ति १ थान, शिवको मूर्ति १ थान र दुर्गा माताको मूर्ति १ थान बरामद गरेको छ।