काठमाडौं। म्यानमारको यांगोन एयरपोर्ट दुई वर्षपछि पुनः सञ्चालनमा आएको छ। गत आइतबार बर्मेली ठूलो पर्व थिङयानको दिन पारेर पुनः सञ्चालनमा ल्याएको हो।
उक्त विमानस्थल कोरोना महामारी बढेपछि सतर्कताका लागि सरकारले सन् २०२० मार्चबाट बन्द गरेको थियो। कोभिड–१९ महामारी नियन्त्रणमा आएसँगै हाल विभिन्न मुलुकका विमानस्थल सञ्चालनमा आइसकेका छन्। विमानस्थल पुनः सञ्चालनमा ल्याउनेमध्ये म्यानमार दक्षिण एसियाकै अन्तिम मुलुक भएको बताइएको छ।
दुईवर्ष पछि पुनः सञ्चालनमा आएको उक्त विमानस्थलबाट पहिलो उडान सिंगापुर एयरलाइन्सले गरेको छ। उक्त विमानस्थलबाट उडानका लागि स्वास्थ्य मापदण्ड पालना भने अनिवार्य छ। उडानका लागि विमानस्थलले स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसारको कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड र परीक्षण रिपोर्टमा नेगेटिभ आएको पेस गर्नुपर्ने प्रावधान राखेको छ। यसैगरी विदेशी पर्यटकले कोभिडविरुद्धको स्वास्थ्य बीमा गरेको पत्र पेस गर्न अनिवार्य गरिएको छ।