लमजुङ। भर्खरै ‘सुखी गाउँ’ घोषणा भएको घलेगाउँमा सेल्फी स्टेशन निर्माण गरिएको छ । गाउँमा आएका पर्यटकहरूका लागि पृष्ठभूमिमा गाउँ देखिने गरी तस्बिर खिच्न सेल्फी स्टेशन निर्माण भएको हो ।
घलेगाउँ ग्रामीण पर्यटन विकास समितिले पर्यटकहरूको माग अनुसार सेल्फी स्टेशन निर्माण गरेको हो । स्थानीय पर्यटन समितिले पाँच लाख रुपैयाँ खर्च गरेर सेल्फी स्टेशन निर्माण गरेको बताइएको छ।
नवनिर्मित सेल्फी स्टेशनबाट पृष्ठभूमिमा घलेगाउँ राखेर तस्बिर खिच्न सकिन्छ भने अर्को तर्फ अन्नपूर्ण हिमश्रृंखला राखेर पनि तस्बिर लिन सकिन्छ । सेल्फी स्टेशनको स्तम्भमा पर्यटन प्रवर्द्धनमा घलेगाउँको मुख्य इतिहास उल्लेख गरिएको छ भने सोही स्तम्भवमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ ।
२०५७ सालबाट घरबास अर्थात व्यवसायिक होमस्टे सुरुवात भएको घलेगाउँमा २०५८ सालमा घलेगाउँ कला महोत्सव गरेपछि आन्तरिक र बाह्य पर्यटकहरूको आगमन हुन थालेको हो ।
पर्यटकहरूको आगमन बढेसँगै २०६३ मा घलेगाउँलाई दक्षिण एसियाको नमुना गाउँ घोषणा भएको थियो । पर्यटन व्यवसायमा अपेक्षित प्रगति भएसँगै स्थानीयले २०७६ सालमा स्मार्ट भिलेज घोषणा गरेका थिए । त्यसको दुईवर्ष पछि स्थानीयकै अगुवाइमा गाउँलाइ नेपालकै पहिलो सुखी गाउँ घोषणा गरेका छन् ।