काठमाडौं। पर्वतको दोविल्ला–फलेवास सडकको कालोपत्रेको काम धमाधम भइरहेको छ। १६ किलोमिटर लामो यो खण्डअन्तर्गत घोइनौला–चन्दनी सडक खण्डको कालोपत्रे सुरु भएको हो।
२०५७ सालमा नै ट्रयाक ओपन भइसकेको उक्त सडकको दुई दशकपछि कालोपत्रे भएको हो। गण्डकी प्रदेश सरकारको रणनीतिक सडकअन्तर्गत घोइनौलादेखि चन्दनीसम्मको झण्डै १० किलोमिटर सडक कालोपत्रे गर्ने कार्य धमाधम भइरहेको पूर्वाधार कार्यालय पर्वतले जनाएको छ।
दुई वर्षमा काम सक्ने गरि २६ करोड ५१ लाख रुपैयाँमा प्यासिफिक÷फेवा जेभीले सडक कालोपत्रे गर्ने जिम्मा लिएको थियो। ८ मिटर चौडा सडकमध्ये ५.५ मिटर सडक कालोपत्रे हुने पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ। सडक कालोपत्रेको काम ११ कात्तिक २०७६ मा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरेका थिए।
वैशाखभित्रै कालोपत्रे सम्पन्न गर्नेगरी दैनिक १२ सय मिटरको दरले कालोपत्रेको काम भइरहेको छ। सडक कालोपत्रे भएपछि पर्वतको देविस्थान, मुडिकुवा, खानीगाउँसँगै दक्षिण पर्वतको महाशिला, पैंयु र विहादीका नागरिकलाई सदरमुकाम आउजाउ गर्न सहज हुने भएको छ। सडक कालोपत्रे हुने भएपछि स्थानीय पनि खुसि भएका छन्।