काठमाडौं। निर्माण सामाग्रीमा भएको मूल्यवृद्धि विरुद्ध नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।
महासंघको बुधबार बसेको बैठकले मूल्यवृद्धि समायोजनलगायतको माग राख्दै आजदेखि विभिन्न आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको हो।
महासंघले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रममा वैशाख ८ गते बिहान ११ बजे सार्वजनिक खरीद अनुगमन कार्यालय ताहाचलमा शान्तिपूर्ण धर्ना दिइने भएको छ।
त्यस्तै ८ गते नै दिउँसो १ बजे बीमा समितिको कार्यालय कुपन्डोलमा धर्ना दिने महासंघले बताएको छ। त्यसैगरी महासंघले वैशाख ११ गते आइतबारबाट ‘कन्स्ट्रक्सन होलिडे’ गर्ने निर्णय गरेको अध्यक्ष रवि सिंहले जानकारी दिएका छन्।
निर्माण सामग्रीमा अप्रत्यासित र अत्यधिक मूल्य वृद्धि गरिएको, सार्वजनिक खरीद ऐनको ११ औं संशोधनका त्रुटी सच्याउनुपर्ने, बीमा समितिले जारी गरेका निर्देशिका खारेज गर्नुपर्ने र निर्माण कम्पनीलाई एकमुष्ट म्याद थपसहित व्यवसायीले उठाएका अन्य समस्या समाधान गर्नुपर्ने महासंघको माग छ।