म्याग्दी। मालिका गाउँपालिका–७ बिमवाङस्थित बराह ताल संरक्षणका लागि पूर्वाधार निर्माण गरिएको छ। बराह तालको संरक्षण गरी पर्यटन विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माण गरिएको हो।
बराह तालमा घेराबार, पैदलमार्ग र सार्वजनिक शौचालय निर्माण गरिएको गाउँपालिकाले जनाएको छ। बपूवार्धार निर्माणसँगै धार्मिक महत्व र पर्यटकीय सम्भावनाको प्रचारप्रसारमा जोड दिएको गाउँपालिकाको भनाइ छ।
मालिका गाउँपालिकाको रु १० लाख सहयोगमा ताल वरपर ढुङ्गा बिछ्याएर पदमार्ग र पर्खाल निर्माण गरिएको छ। चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको रु तीन लाख बजेटबाट ताल परिसरमा सार्वजनिक शौचालय निर्माण गरिएको हो। पदमार्ग र पर्खाल निर्माण भएपछि ताल आकर्षक बनेको बताइएको छ।
करिब ४५/४५ मिटर लम्बाइ चौडाइ र तीन मिटरभन्दा बढी गहिरो ताल समुद्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा अवस्थित छ। तालको पृष्ठभूमिमा धौलागिरि र गुर्जा हिमाल छन्। तालमा हिमालको छायाँ पर्दा मनमोहक दृष्य देखिन्छ।
ताल परिसरमा बगैँचा निर्माणका लागि युवाले फूलका बिरुवा रोपेका छन्। मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि बिम, बिमवाङ हुँदै धार्मिक पर्यटकीयस्थल मालिका धुरी जोड्ने सडक सुगुरथलासम्म जोडिएको छ।