काठमाडौं। दोलखाको तामाकोसी गाउँपालिका–४ मा नेवार समुदायको बस्तीमा नेवार संग्रहालय निर्माण गरिएको छ। जातीय पहिचान संरक्षणका लागि संग्रहालयको निर्माण गरिएको हो।
नेवारहरूको बसोबास रहेको मालु गहते, फेदी, तिलार र मालु खोलामा रहेको छ। उक्त बस्तीमा एक सयभन्दा बढी घरधुरी रहेका छन्। नेवारहरूको संस्कृति, भेषभुषा, बाजागाजा लोप हुन लागेपछि पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणका लागि संग्रहालय निर्माण गरेका हुन्।
नयाँ पुस्ताले पुराना कुरा भुल्दै जाने सम्भावना देखिएकाले जातीय पहिचान तथा संस्कृति संरक्षणका लागि संग्रहालय उपयुक्त हुने देखिएकाले लगानी गरेको गाउँपालिकाले जनाएको छ। संग्राहालयमा परम्परागत जातीय भेषभुषा, रीतिरिवाज झल्कने सामग्री, परम्परागत पेसा, धर्मसंस्कृतिसँग जोडिएका बाजागाजा, भाँडाकुँडा लगायतका सामग्री राखिएको गाउँपालिकाले बताएको छ।
उक्त संग्रहालयले पर्यटन समेत प्रवद्र्धन हुने विश्वास गरिएको गाउँपालिकाको भनाइ रहेको छ। अब पुरानो संस्कार, बाजा र जात्रा पर्व सञ्चालनका लागि अनुभवीबाट तालिम लिएर सञ्चालनमा ल्याउने तयारीरहेको छ।