जुम्ला। गुठिचौर गाउँपालिका–१ को गढीगाउँका ३ सय ५० घरधुरीमा बत्ती पुगेको छ। गाउँपालिकाको लगानीमा गाउँमै ४२ किलोवाटको लघुजलविद्युत आयोजना बनेपछि गढीगाउँका ३ सय ५० घरधुरीमा बत्ती पुगेको हो।
गुठिचौर गाउँपालिकाको एक करोड एक लाख बजेट लगानीमा निर्माण भएको ४२ किलोवाट क्षामताको अदली खोला लघुजलविद्युत आयोजनाबाट गढीगाउँका ३ सय ५० घरधुरीका १ हजार ८ सय नागरिक बत्तीबाट लाभान्वित भएको गुठिचौर गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले विद्युतीकरणमा जोड दिएको भन्दै जुम्लाका आठवटै स्थानीय तहमध्ये कार्यसम्पादनमा जिल्लाकै नमुना भएको बताइएको छ। दुर्गम र विकासका पूर्वाधारबाट पछाडि परेको बस्तीका नागरिकलाई विकासको मूलधारमा ल्याउने लक्ष्य विद्युत, खानेपानी, सिँचाइ, भवन, सडकको विकासले पूरा भइरहेको गाउँपालिकाले जनाएको छ।
गाउँ वर्षौंपछि झिलिमिली भएपछि दियालो बाल्ने बाध्यताको अन्त्य भएकोमा स्थानीय खुसि भएका छन्। वर्षौंदेखिको बत्ती बाल्ने सपना पूरा भएको छ। ४२ किलोवाट बिजुलीबाट गढीगाउँ, नापानी, मुनिगाउँ र डिल्लीकोटका उपभोक्ता लाभान्वित भएका छन्।