कैलाली। कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ। सडक निर्माणमा गुणस्तरहीन काम गरेर रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार ७ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो।
आयोगले बिहीबार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टसहित ७ जनाविरुद्ध पौने ३ करोड रुपैयाँ बिगो र कैद सजाय मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विभिन्न निर्माण व्यवसायीबाट कार्य सम्पादन भएका १३ वटा सडकमा मापदण्डविपरीत गुणस्तरहीन काम गरेको पाइएपछि मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
विष्ट र देवराज जोशीले प्राविधिकको कार्यक्षेत्रमा प्रवेश गरी गलत तथा गुणस्तरहीन कार्यको नापी किताबमा सहमति जनाएको, इन्जिनियर र सबइन्जिनियरले गुणस्तरहीन कार्य गराई नापी किताबमा वास्तविक कार्यभन्दा बढी परिमाण उल्लेख गरी मूल्यांकन गरेको तथा बढी भुक्तानी लिएको अभियोजन पत्रमा उल्लेख छ । अख्तियारले विष्टविरुद्ध ३१ लाख ३७ हजार ८ सय ५३ रुपैयाँ र त्यति नै रकम असुलउपर गर्नुपर्ने मागदाबी लिएको छ ।
जोशीविरुद्ध २५ लाख ५२ हजार ८ सय ८६ रुपैयाँ, नगरपालिकाका तत्कालीन इन्जिनियर पूर्ण कुँवरविरुद्ध ५६ लाख ९० हजार ७ सय ४० रुपैयाँ बिगो र कैद सजाय माग गरिएको छ । तत्कालीन सब–इन्जिनियर ज्ञानेन्द्र बुढाविरुद्ध ४३ लाख १७ हजार ६ सय ६६, सब–इन्जिनियर नरेन्द्र शाहीविरुद्ध १२ लाख २४ हजार ४ सय ९५, ल्याब टेक्निसियन धनबहादुर विष्टविरुद्ध ५३ लाख ५१ हजार २ सय ३४ र ठेकेदार गणेश विष्टविरुद्ध ५० लाख ३१ हजार ५४ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।