काठमाडौं। रुकुम पश्चिमको सबैभन्दा पुरानो शितलपोखरी–झुल्खेत सडकखण्डमा २२ वर्षपछि कालोपत्रे गर्न लागिएको छ। कृषि सडक ट्रयाकका रुपमा २०५६ सालमा निर्माण कार्य सुरु गरिएको सडक खण्डमा दुई दशकपछि कालोपत्रे गर्न लागिएको हो।
लामो समयपछि कालोपत्रे हुन थालेपछि त्यहाँ स्थानीय खुसी भएका छन्। जिल्लाकै पहिलो कृषि सडक शितलपोखरी–झुल्खेत सडकखण्डको निर्माण कार्य अन्तिम चरणमा पुगेसंगै कालोपत्रे गर्ने तयारी सुरु गरिएको हो। एसियाली विकास बैंक (एडिबी) को सहयोगमा शितलपोखरी झुल्खेत हुँदै रुकुम रोल्पाको सिमाना तिलाडाँडा संग जोड्ने सडकलाई कालोपत्रे गर्न लागिएको हो।
दुईदशक अघि कृषि सडकको रुपमा ट्रयाक खोल्ने काम सुरू गरिएपनि २२ वर्षपछि १८ किलोमिटर सडकखण्डको ग्राभेल कार्यले पूर्णता पाएसँगै कालोपत्रे गर्ने तयारी भएको छ। भौगोलिक कठिनाइका कारण दुईदशक समय बितिसक्दा पनि हाल सडक निर्माण कार्य अन्तिम चरणमा पुगेकाले सो सडकलाई स्थानीयबासीले आफ्नो भविष्यसँग जोडिएर हेरेको स्थानीयले बताएका छन्।
शितलपोखरी–झुल्खेत सडकखण्डको कालोपत्रे गर्ने जिम्मा पीएच. शंकरमाली जेभीले लिएको छ। एसियाली विकास बैंकको ३८ करोड ऋण सहयोगमा यसको निर्माण कार्य अगाडि बढाएको बताइएको छ।