रसुवा। रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेमा गुरु रिम्बुच्छेको मुर्ति निर्माण गरिएको छ। धुन्चेमा ८३ लाखको लागतमा २७ फिट अग्लो गुरु रिम्बुच्छेको मुर्ति निर्माण गरिएको हो।
मुर्ति निर्माण गर्न निमावाङजु थोक्राको अध्यक्षतामा निर्माण उपभोक्ता समिति बनाइएको थियो । उक्त स्थानमा पहिला न्हिसिङ गुम्बा थियो । धुन्चेका समाजसेवी एवं प्रख्यात झाँक्री स्वर्गीय कार्सिङ्गी तितुङले उक्त गुम्वा निर्माण गरी धुन्चे गाउँमा रोग, ब्याद नहोस्, हावाहुरी नआओस्, असिना नपरोस् भनेर पुजापाठ गर्ने गर्थे।
२०७२ सालको भूकम्पले न्हिसिङ गुम्बा भत्किएपछि सोही स्थानमा गुरु रिम्बुच्छेको मुर्ति निर्माण गरिएको हो । यस मुर्ति निर्माण गर्न गोसाइँकुण्ड गाउँपालिका र वडा कार्यालयको सहयोग रहेको छ । यस मुर्ति धुन्चेकै गहनाको रूपमा रहेको छ । मुर्तिका कारण यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थिति रहने विश्वास गरिएको छ।