काठमाडौं। नेपाल वायुसेवा निगमले आजरदेखि साउदी अरेबियाको राजधानी रियादमा काठमाडौंबाट उडान गर्ने भएको छ। निगमका अनुसार यो उसको आठौं अन्तर्राष्ट्रिय गन्तव्य मुलुक हो।
निगमको ६३ वर्षे इतिहासमा पहिलोपटक साउदी अरेबियामा व्यवसायिक उडान गर्न लागेको बताइएको छ। साउदी अरेबिया अत्याधिक नेपाली कामदार जाने मुलुक हो। सातामा दुई दिन उडानको अनुमति पाएको जनाएको छ।
निगमको वाणिज्य विभागका अनुसार, अहिले सातामा मंगलबार र शुक्रबार काठमाडौंबाट उडान हुने छ। रियादबाट बुधबार र शनिबार काठमाडौंका लागि उडान हुने छ। निगमका एक निर्देशकका अनुसार यात्रुको चाप अनुसार २ सय ७४ सिट क्षमताको एयरबस ए ३३० वाइडबडी वा १ सय ५८ क्षमताको एयरबस ए ३२० न्यारोबडी विमान उडाइने छ।