काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले बीमा समिति कुपान्डोलमा शान्तिपूर्ण धर्ना शुरु गरेको छ। महासंघले बिहीबारदेखि शुरु गरेको विरोध कार्यक्रम अन्तर्गत आज पनि बीमा समितिमा धर्ना दिन थालेको हो।
बीमा समितिले जारी गरेको बीमा सम्बन्धी नयाँ निर्देशीका खारेको माग गर्दै महासंघले धर्ना दिएको छ। निर्देशीका संशोधनका लागि पटक पटक बीमा समितिको ध्यानाकर्षण गराउँदा पनि माग पूरा नभएपछि महासंघले आन्दोलनका कार्यक्रम शुरु गरेको छ। महासंघले शान्तिपूर्ण धर्नाबाट पनि आफूहरुको माग सुनुवाइ नभए थप शसक्त ढंगले आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी समेत दिएका छन्।
महासंघले निर्माण सामाग्रीको मूल्यवृद्धि समायोजनको माग राखेर पनि आन्दोलन शुरु गरेको छ। महासंघले बिहीबारदेखि खरिद अनुगमन कार्यालयमा पनि धर्ना दिन शुरु गरेको छ। महासंघले आइतबारदेखि निर्माण होलिडे मनाउने घोषणा समेत गरेको छ।