काठमाडौं। सरकारले हवाइ शुल्कमा अढाइ गुणासम्म वृद्धि गरेको छ। विमानस्थल प्रयोग गरेबापत आन्तरिक तथा अन्तर्राष्ट्रिय यात्रुसँग लिँदै आएको यात्रु सेवा सुविधा शुल्क बढाएको हो।
विमानस्थल सेवा शुल्क नियमावली–२०६७ संशोधन गरेर विमानस्थल विकास शुल्क खारेज गर्दै यात्रु सेवासुविधा शुल्क बढाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संशोधन गरेको ‘विमानस्थल सेवा शुल्क नियमावली–२०७८’ ३० चैतमा बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भइसकेको छ । नयाँ नियमावली स्वीकृत भएको मितिले ४५ दिनपछि अर्थात् १५ जेठदेखि लागू हुनेछ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक यात्रुसँग विमानस्थल हेरीकन अधिकतम दुई सय रुपैयाँ यात्रु सेवा शुल्क लिँदै आएकोमा त्यसलाई बढाएर पाँच सय रुपैयाँ पुर्याएको छ । अन्तर्राष्ट्रिय यात्रुहरूसँग यसअघि यात्रु सेवा शुल्क र विमानस्थल विकास शुल्कको नाममा प्रतियात्रु दुई हजार (सार्क मुलुकको यात्रामा १७ सय) रुपैयाँ लिइँदै आएको थियो ।
तर, विमानस्थल विकास शुल्क हटाएर यात्रु सेवा शुल्क मात्रै बढाएर प्रतियात्रु तीन हजार रुपैयाँ तिर्नुपर्ने बनाइएको छ । क्यानले रनवे पिच परिवर्तनका लागि भनेर आर्थिक वर्ष ०७१/७२ देखि अन्तर्राष्ट्रिय यात्रुसँग पाँच वर्षका लागि भनेर एक हजार रुपैयाँ विमानस्थल विकास शुल्क उठाउँदै आएको छ । तर, पाँच वर्ष पार गरे पनि क्यानले विमानस्थल मर्मत–सम्भार भन्दै सरकारकै स्वीकृतिमा उक्त रकम नियमित उठाइरह्यो ।
अब सार्क मुलुकमा यात्रा गर्ने यात्रुलाई १३ सय र अन्य मुलुकमा यात्रा गर्ने यात्रुलाई एक हजार रुपैयाँ अतिरिक्त भार थपिएको छ ।