काठमाडौं। निर्माण व्यवसायीहरुले आइतबार (भोलि) देखि देशभरका निर्माण कार्य रोक्ने घोषणा गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीमा भएको मूल्यवृद्धि विरुद्ध आइतबारदेखि देशभर विकास निर्माणका काम ठप्प पार्ने घोषणा गरेको हो।
शुक्रबार पत्रकार सम्मेलन गर्दै महासंघले वैशाख ११ गते आइतबारदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण निर्माण कार्य बन्द गरी आन्दोलन अगाडि बढाउने जानकारी दिएको छ।
महासंघका अध्यक्ष रवि सिंहले ठेक्का लिँदाको तुलनामा अहिले निर्माण सामग्रीको मूल्य अत्याधिक बढेकाले मूल्यवृद्धि समायोजन नभएसम्म आयोजनाको काम रोकिने बताए। उनले निर्माण सामग्रीमा भएको मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधनका केही त्रुटिपूर्ण बुँदा, बिमा निर्देशिका २०७८ का प्रावधान लगायतका कारण निर्माण व्यवसाय धराशायी भएकाले आफूहरु आन्दोलनमा उत्रनु परेको बताए।
अध्यक्ष सिंहले निर्माण उद्योग धराशायी भएका कारण १७ हजारभन्दा बढी व्यवसायी पेशाबाटै पलायन हुने अवस्थामा पुगेको बताए।
महासंघले आगामी वैशाख १३ गते मंगलबारदेखि ७७ वटै जिल्ला संघहरूले जिल्ला प्रशासन कार्यालय र ७ वटै प्रदेश महासंघले मुख्यमन्त्रीको कार्यालयमा प्रत्येक दिन एक घण्टा धर्ना गर्ने पनि जानकारी दिएको छ।
महासंघले बिहीबारदेखि आन्दोलनका कार्यक्रम शुरु गरेको हो। महासंघले बिहीबार र शुक्रबार ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालय र कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा शान्तिपूर्ण धर्ना दिएको छ।