काठमाण्डौं। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा–कोत्रे सडकखण्ड धुलाम्य भएपछि स्थानीयवासी आन्दोलित भएका छन्। घाम लाग्दा धुलो र पानी पर्दा हिलो भएपछि स्थानीयवासी सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिएका हुन्।
पटक–पटक सम्बन्धित निकायमा धुलो नियन्त्रणका लागि आग्रह गरे पनि चासो नदिएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको स्थानीयवासीको भनाइ छ। शुक्लागण्डकी –२ हलेदीमा सडक मर्मत नहुँदा स्थानीयवासीले समस्या भोग्दै आएका छन्।
स्थानीयवासीले शुक्रबार कोत्रेमा १५ मिनेट र शनिबार हलेदीमा ३० मिनेट राजमार्ग अवरुद्ध गरेका छन्। “हामीले राज्यलाई तिर्नुपर्ने सब कर तिरेका छौँ, तर पनि हाम्रो माग पूरा हुँदैन, सधैँ धुलो खाएर बस्नुपरेको छ”, उनिहरुले भने। सडक डिभिजन कार्यालयमा विभिन्न मितिमा डेलिगेशन गएर सडक मर्मतको माग गरिए पनि सुनुवाइ नभएको हो।