काठमाडौं। २०७२ सालको महाभूकम्प गएको ७ वर्ष पूरा भएको छ। विसं २०७२ साल वैशाख १२ गते अर्थात आजकै दिन गोरखा केन्द्रविन्दु बनाएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो।
बिहान ११ बजेर ५६ मिनेट जाँदा गएको भूकम्पबाट काठमाडौं, काभ्रेपलान्चोक, भक्तपुर, सिन्धुपाल्चोक, नुवाकोट, रसुवालगायत हालको बागमती र गण्डकीका धेरैजसो जिल्लामा सबैभन्दा बढी क्षति गरेको थियो।
हजारौं मानिसले ज्यान गुमाएका थिए भने निजी तथा सरकारी गरी लाखौं घरहरू भत्किएका थिए। भूकम्पबाट समग्रमा ३२ जिल्लामा क्षति पुगेको थियो।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार हालसम्म पुनर्निर्माण र पुनर्स्थापनाको काम लगभग सम्पन्न भएका छन् । धरहारा र काष्ठमण्डपसहित अधिकांश सम्पदास्थलहरुको पुनर्निर्माण कार्य सम्पन्न भएका छन् ।
भूकम्पबाट क्षति भएका निजी आवास क्षेत्रको पुनर्निर्माणको कार्य पनि सम्पन्न हुने चरणमा छन् । ८ लाख ११ हजार ७ सय ५४ वटा घर पुनर्निर्माणका लागि अनुदान सम्झौता भएको थियो ।