काठमाडौं। आन्तरिक हवाइ भाडादर अत्याधिक वृद्धि भएको छ। यात्रुको संख्यामा भएको वृद्धिसँगै आन्तरिक हवाई भाडा उच्च रुपमा बढेको हो।
उडान संख्या सिमित हुनु र यात्रुको संख्यामा वृद्धि हुनाका कारण हवाइ भाडा महंगो भएको हवाइ कम्पनीहरुको भनाइ छ।
बुद्ध एयरले अहिले सस्तो टिकट २४ घण्टाभित्र पाउन नसकिने बताएको छ। बुद्धको मात्र नभएर सबैजसो हवाइ कम्पनीका जहाजमा यतिबेला यात्रुको चाप बढ्दो छ। शुक्रबार र शनिबारको दिन अरु दिनभन्दा यात्रुको चाप बढी हुनेगरेको हवाइ कम्पनीहरुले जनाएका छन्। शुक्रबार र शनिबार पोखराका यात्रु बढी हुने हुँदा टिकट नै पाउन नसकिने अवस्था छ।
यात्रुको चाप भएकाले काठमाडौं–पोखराको एकतर्फी भाडादर न्यूनतमनै ४२ सय छ भने अधिकतम ६१ सय रुपैयाँ भन्दा बढी छ। कोभिडको समयमा काठमाडौं– पोखराको भाडा १५ सय रुपैयाँसम्म झरेको थियो। पोखरामा बुद्ध, यती, गुण, श्री, सौर्य लगायत वायुसेवा कम्पनीले दैनिक १६ वटा उडान गर्दै आएका छन्।
यस्तै काठमाडौं– नेपालगंजको भाडा पनि न्यूनतम ५३ सय र अधिकतम १२ हजार ५ सय ७० रुपैयाँ पुगेको छ। काठमाडौं– विराटनगरको भाडादर पनि उच्च रुपले बढेको छ। हवाई कम्पनीका अनुसार यो गन्तब्यमा न्यूनतम भाडादर ४३ सय रुपैयाँ र अधिकतम ९ हजार ८५ रुपैयाँसम्म पुगेको छ।