काठमाडौं। बागमती नदीमा पक्की पुल निर्माण भएको छ। बागमती प्रदेशको राजधानी हेटौंडा र सिन्धुली जोड्ने सडकखण्ड अन्तर्गत बागमती नदीमा पक्की पुल निर्माण भएको हो।
सिन्धुलीको हरिपुरगढी गाउँपालिका–४ तथा मकवानपुरको बागमती गाउँपालिका–४ जोड्ने बागमती नदीमा पक्की पुल निर्माण भएको मदन भण्डारी राजमार्ग योजनाको कार्यालय हेटौंडाले जनाएको छ।पुल निर्माणले सर्वसाधारणलाई आवागमनमा सहज भएको छ।
विक्रम संवत् २०६८ असार २९ गतेदेखि शुरू भएको पुल ११ वर्षपछि निर्माण भएको र पुलबाट सवारीसाधन आवागमन शुरू भएको छ। सडकको दायाँबायाँ एप्रोच सडक कालोपत्र र तटबन्ध निर्माणको काम पनि भइरहेको छ।
जम्मा ११ वटा स्पान रहेको पुलको लम्बाइ ४०५ मिटर लामो रहेको योजनाले जनाएको छ। पुल निर्माण सम्पन्न भएपछि प्रदेश राजधानी हेटौंडा जान सिन्धुली, रामेछाप, काभे्र र दोलखा लगायतका जिल्लालाई सहज भएको छ। सो क्षेत्रमा पुल नहुँदा नदी तरेर जानुपर्ने बाध्यता थियो।
२० करोड ६२ लाख रुपैयाँमा निर्माण हुने पुल ५ वर्षमा निर्माण गर्ने ठेक्का सम्झौता भएको थियो तर पुल निर्माणमा आलटाल गरेपछि समयावधि थप गरी २०७५ असोजसम्म बनाइएको थियो।