काठमाडौं। काठमाडौं–नारिता (जापान) रुटमा अब हप्तामा तीन वटा उडान हुने भएको छ। नेपाल वायुसेवा निगमले काठमाडौं–नारिता मे १, २०२२ देखि आइतबार, मंगलबार र शुक्रबार गरी साताको तीन उडान गर्न लागेको हो।
निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार यी तीन सेक्टरमा जापान सरकारको नियमानुसार आइतबार र मंगलबारको उडानमा जम्मा १४० यात्रुहरु एवं शुक्रबारको उडानमा जम्मा १२० जना यात्रुहरु मात्र बोक्न पाइने छ। यात्रु चाप एवम मागको तुलनामा सिट संख्याको उपलब्धता ज्यादै न्यून रहेका कारण उडान संख्या थप्न लागिएको हो।
जहाजको क्षमता भन्दा करिब आधा कम क्षमतामा काठमाडौं–नारिता यात्रु बोक्न परेको हुनाले भाडादर समेत मंहगो भएको नेपाल एयरलाइन्सको भनाइ छ ।
काठमाडौैं–नारिता सेक्टरमा करसहित विजनेस क्लासमा रु. १ लाख ५२ हजार र इकोनोमी क्लासमा रु. १ लाख १९ हजार ७०० भाडादर कायम गरिएको छ । यसरी तोकिएको मूल्य भन्दा बढी भाडा लिई टिकटहरु बिक्री वितरण गरेको गुनासो प्राप्त भएको भन्दै खड्काले कसैले तोकिएको मूल्यभन्दा बढी मूल्य लिई विक्री वितरण गरेको पाइएमा नियमानुसार कारवाही हुने समेत चेतावनी दिएको छ ।