काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले आज पनि धर्ना जारी गर्ने भएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयमा गर्दै आएको धर्ना आज पनि हुने भएको हाे।
निर्माण सामाग्रीमा भएको मूल्यवृद्धि, म्याद थप, सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधनका केही प्रावधान लगायतमा संशोधन तथा खारेजीका लागि सरकारलाई बुझाएको ज्ञापनपत्रमा कुनै सम्बोधन नभएकाले धर्ना कार्यक्रम जारी राख्ने महासंघले जनाएको छ। महासंघले खरिद अनुगमन कार्यालयमा गत वैशाख ८ गतेदेखि धर्ना दिन शुरु गरेको हो। महासंघले वैशाख ११ गतेदेखि निर्माण होलिडे घोषणा गरी देशभरका निर्माण कार्य समेत ठप्प बनाएको छ।
महासंघले दैनिक बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा धर्ना दिने गरेको छ। त्यसैगरी वैशाख १३ गतेदेखि निर्माण व्यवसायी जिल्ला संघहरुले पनि आफ्नो जिल्ला प्रशासन कार्यालयमा र प्रदेश संघहरुले प्रदेश प्रमुखको कार्यालयमा दैनिक एक घण्टा धर्ना दिन शुरु गरेका छन्।
महासंघले बीमा समितिमा दिँदै आएको धर्ना कार्यक्रम भने स्थगित गरिएको छ। गत सोमबार बीमा समिति र महासंघबीच भएको छलफलमा बीमा निर्देशीका संशोधन गर्न सहमती भएपछि धर्ना कार्यक्रम स्थगित गरिएको हो।
.jpg)