काठमाडौं। नेपाल विद्युत प्राधिकरणले पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायक र केवल टेलिभिजनको लाइन काट्ने भएको छ। प्राधिकरणले वैशाखभित्र पोलभाडा वापतको बुझाउन बाँकी रकम, सम्झौताको नविकरण नगरे लाइन काट्ने चेतावनी दिएको हो।
पोलभाडाको वक्यौता भुक्तानी र नविकरण सम्झौता नगरेसम्म सेवा विस्तार नगर्ने विद्युत प्राधिकरणले सेवाप्रदायकहरुलाई चेतावनी दिएको छ ।
केही आईएसपी कम्पनीहरु पोल भाडा तिर्न आए पनि अझै धेरै सेवाप्रदायकहरुले अटेर गरेको प्राधिकरणले जनाएको छ। प्राधिकरणको विद्युतीय संरचना प्रयोग तथा अप्टिलक फाइबर भाडामा लिई इन्टरनेट, टेलिफोन र केवल टिभी सञ्चालन हुँदै आएको छ ।
२०७४ साल देखिको पोलको भाडा नतिरेको भन्दै प्रधिकरणले लाइन काट्ने चेतावनी दिएको हो । यसअघि प्राधिकरणले लामो समयसम्म पोलको भाडा नतिरेको भन्दै असोजमा इन्टरनेटको तार काटेको थियो ।
त्यसपछि विद्युत प्राधिकरण, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र प्रयोगकर्ताबीच कात्तिकभित्र पोलको भाडा तिर्ने सम्झौता भएको थियो । उक्त समयसम्म प्राधिकरणले लाइन नकाट्ने सम्झौता भएको थियो ।