काठमाडौं। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज अप्रेसन फ्लाइट हुने भएको छ। आज नेपाल वायुसेवा निगमको ३३० एयरबसले अप्रेसन फ्लाइट (परीक्षण उडान) गर्न लागेको हो।
यसअघि नयाँ वर्षका दिन हुने भनिएको अप्रेसन फ्लाइट स्थगित गरिएको थियो। प्राधिकरणका प्रवक्ता देवचन्दलाल कर्णका अनुसार अप्रेसन फ्लाइटका लागि निगमको विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज दिउँसो ३ बजे भैरहवाका लागि उड्नेछ भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि साँझ ५ बजे काठमाडौं फर्किनेछ।
विमानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेका साथै पर्यटन मन्त्रालयका सचिव, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक लगायतको टोली आउने छ। उक्त टोलीले विमानस्थलको अवस्था, भन्सार, अध्यागमन, सुरक्षा लगायतका बारेमा जानकारी समेत लिने छ।
परीक्षण उडानपछि अब अन्य मुलुकले पनि चार्टड फ्लाइट गर्नसक्ने र व्यावसायिक उडानका लागि सूचना पठाउन सक्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धकले बताए।
गौतमवुद्ध विमानस्थलबाट उडान भर्न सरकारले हवाइ कम्पनीलाई औपचारिक आग्रह गरिसकेको छ। विमानस्थलमा व्यावसायिक उडान गर्न ११ भन्दा बढी मुलुकका कम्पनीले चासो देखाएका छन्। यद्यपि व्यावसायिक उडानका लागि औपचारिक पत्र भने पठाएका छैनन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी जेठ २ गते बुद्ध पूर्णिमाका दिन व्यावसायिक अन्तर्राष्ट्रिय उडान गर्ने तयारी छ।